August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सीटीईभीटीका उपाध्यक्ष र सदस्य -सचिवलाई कार्यकक्ष प्रवेशमा अवरोध

२०८० चैत्र १

634

काठमाडौंः सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) का कर्मचारीहरुले उपाध्यक्ष, सदस्य–सचिव लगायतलाई कार्यकक्ष प्रवेशमा अवरोध गरेका छन् । आन्दोलनरत कर्मचारीहरुले उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, सदस्य–सचिव महेश भट्टराई र प्रशासन महाशाखाका निर्देशक नवराज कोइरालालाई कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन सीटीईभीटीको अगुवाइमा लामो समयदेखि कर्मचारीहरु आन्दोलनरत छन् । उनीहरु विभिन्न माग राखी धर्ना बस्न थालेको ५० दिन पूरा भइसकेको छ । आन्दोलन सुरु भएको लामो समय भए पनि आफूहरुको माग सीटीईभीटी नेतृत्वले नसुनेपछि बिहीबारदेखि कार्यकक्ष प्रवेशमा अवरोध गर्न थालिएको संगठनका सचिव रामकृष्ण पराजुलीले जानकारी दिएका छन् ।

संगठनले गत फाल्गुन २७ गते विज्ञप्ति जारी गर्दै चैत १ गतेसम्म पनि माग पूरा नभए उपाध्यक्ष, सदस्य–सचिव लगायतलाई कार्यकक्ष प्रवेशमा अवरोध गर्ने जनाएको थियो । सोहीअनुसार बिहीबारदेखि कार्यकक्ष प्रवेशमा अवरोध गरिएको संगठनका सचिव पराजुलीले जानकारी दिए ।

आन्दोलनरत कर्मचारीहरुले नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने सहित संगठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समय परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरुलाई आर्थिक श्रोतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता बापतको रकम उपलब्ध गराउनु पर्ने र संगठनसँग गएको जेठ १८ गते भएको सहमती कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटिइभिटीले यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएकोे भदौ २७ गते जारी गरेको आदेशअनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको स्पष्ट पारेको छ ।