काठमाडौंः वैज्ञानिक समाजवादी किसान केन्द्र, नेपालको प्रारम्भिक राष्ट्रिय भेला बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको बेहरीमा सम्पन्न भएको छ। असोज १९ र २० मा भएको उक्त भेलाले मदन प्रभातको संयोजकत्वमा १९ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति निर्वाचित गर्दै सम्पन्न भएको हो। भेलाले किसान केन्द्रको घोषणापत्र तथा विधानसमेत पारित गरेको छ।
‘किसानमारा दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध संघर्ष गरौं । आत्मनिर्भरतासहितको वैज्ञानिक समाजवादी किसान आन्दोलन निर्माण गरौं । ’भन्ने मुल नारासहित आयोजना भएको प्रारम्भिक भेलाले दलाल पुँजीवादले नेपाली कृषि प्रणालीलाई धराशायी बनाएकाले अबको वैज्ञानिक समाजवादी किसान आन्दोलनको मुख्य लडाइँ यसैसँग हुने निष्कर्ष निकालेको छ । त्यस्तै भेलाले अर्थतन्त्रका चारै क्षेत्र उत्पादन-विनिमय-वितरण र उपभोग आफै निर्माण गरेमात्र किसानहरुको मुक्ती हुने पनि निष्कर्ष निकालेको छ। दलाल पुँजीवादको विकासले किसानहरु एउटा पृथक वर्ग नभएर विभिन्न वर्गहरु मिलेर बनेको समुदायमा परिणत भएको पनि भेलाले संश्लेषण गरेको छ।
प्रारम्भिक भेलाको संयोजकत्व वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रबुद्ध कमिटिका संयोजक तथा वि।स २००९(११का किसान आन्दोलनका नेतृत्वकर्ता नन्दन अर्यालले गरेका थिए भने भेलालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुतिले किसान आन्दोलनको आगामी कार्यदिशाबारे प्रशिक्षण दिएका थिए।