काठमाडौंः काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सम्पदा महोत्सवसहित सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नवीन मानन्धरले सम्पदा महोत्सवसहित सप्ताहव्यापी कार्यक्रम गरी मनाउने जानकारी दिएका हुन् । महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्दन गर्न भोजन मेला हुने उनले बताए ।
दिवसको अवसरमा खुला क्षेत्रको सरसफाइ, महशुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू हुने प्रवक्ता मानन्धरले जानकारी दिए । प्रवक्ता मानन्धरले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य र व्यावहारिक शिक्षा, मूर्त÷अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताए । उनले महानगरपालिकाले फोहारमैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय, साझेदारी र सहकार्य भइरहेको बताए ।
शहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताएका छन् । उनले महानगरमा राजश्व तिर्ने, भवन नक्सा स्वीकृत गर्ने लगायत कामका लागि महानगरले अनलाइन प्रणाली बनाउने बताए । उनले शहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधारका काम भइरहेको उल्लेख गरेका छन् ।
विसं २०५२ मा मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै काठमाडौँलाई महानगरका रुपमा विकास गरिँदै आएको छ ।