August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

८९ रुपैयाँको पेट्रोललाई १८१ मा बेचेर सर्वसाधारण माथी लुट मच्चाउँदै आयल निगम

२०७९ मंसिर २६

854

काठमाडौंः भारतीय आयल कर्पोरेसनको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोल जम्मा ८९ रुपैयाँ ७१ पैसामा किन्छ तर, नेपालमा बिक्री मूल्य भने १८१ रुपैयाँ छ । यस्तै प्रतिलिटर ११९ रुपैयाँमा किनेको डिजेल १७८ रुपैयाँमा र ११२ रुपैयाँ ९७ पैसामा किनेको हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

गत वर्ष यसै समयबाट सुरु भएको इन्धनको मूल्यवृद्धि पछिल्लो ५ महिनायता निरन्तरजसो ओरालो लागिरहेको छ ।आयल निगमकै तथ्यांकले पनि पछिल्लो दुई महिनायता निगम निरन्तर नाफामा रहेको छ । ३१ असोजदेखि १५ कात्तिकसम्म ३९ करोड, १५ कात्तिकदेखि १ मंसिरसम्म १८ करोड र १ मंसिर यता निगम ५८ करोड ७१ लाख रुपैयाँ नाफामा छ । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार निगम अहिले एक महिनामा एक अर्ब १६ करोड रुपैयाँ भन्दा बढी नाफामा छ । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । भारतले खरिद गरेर नेपाललाई बिक्री गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य त चार हप्ताको बीचमा प्रतिब्यरल २२.८९ डलरले घटेको छ ।

तर अन्तर्राष्ट्रिय बजारबाट मुल्य घटेपनि आयल निगमले भने आफ्नो गैर जिम्मेवारीपन देखाउँदै मुल्य घटाउने तर्फ चासो नै दिएका छैनन् । मुल्यवृद्धिले गर्दा सर्वसाधारणको ढाड सेकिरहेको र तल्लो वर्गका मानिसले जीवन निर्वाह गर्न नै नसकिने अवस्थामा पुगेको यथार्थलाई बेवास्ता गर्दै आइरहेका छ । केही विद्यार्थी संगठनहरुले यसका विरुद्धमा आवाज उठाउँदा पनि आयल निगमले अझै पनि कानमा तेल हालेर नै बसिरहेको छ ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय भने विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने भन्दै नागरिक प्रतिको दायित्वबाट पन्छिने तर्क गर्छन् ।