काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटी को सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी गरेको छ । विशेष छात्रवृत्ति अन्तर्गत अध्ययन गरिरहेका विद्यार्थीहरुको समस्यालाई सम्बोधन नगरेको भन्दै संगठनले तालाबन्दी गरेको हो ।
त्यस्तै संगठनले सीटीईभीटी अन्तर्गतकै धनुषाको सपहीमा रहेको वि.पी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटका कार्यालय प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् भने लुम्बिनी प्रदेशमा पनि सीटीईभीटीको प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । विशेष छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुको निर्वाह भत्ता तत्काल उपलब्ध गर्नुपर्ने,समयमै परिक्षा हुनुपर्ने र नतिजा प्रकाशनमा भएको ढिलाई अन्त्य गर्नुपर्ने आफुहरुको मुख्य माग रहेको वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालका संयोजक करण बुढाले बताए ।
विगत एक महिनादेखि पटक पटक जानकारी गराउँदा समेत सीटीईभीटीले बेवास्ता गरेकाले आफुहरु तालाबन्दी गर्न बाध्य भएको उनले बताए । त्यस्तै विद्यार्थीहरुले सीटीईभीटीले तत्काल आफुहरुको मागलाई सम्बोधन नगरे तालाबन्दी मात्रै नभएर पुनः कडाभन्दा कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।