April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आइतबार आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

२०७९ माघ २८

442

काठमाडौंः चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शनिबार विज्ञप्ति जारी गरी नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको बताएका छन् ।

‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।