September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

क्रसर व्यावसायीलाई कानूनसम्मत सहयोग गर्ने मन्त्री मोदीको प्रतिबद्धता

२०७९ फाल्गुन १२

274

 

काठमाडौंः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले नीति निर्माण र कानून बनाउने सन्दर्भमा आफूले सहजीकरण गर्ने धारणा व्यक्त गरे । मन्त्री मोदीले भने, “क्रसर तथा खानी उद्योगको नवीकरणमा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक छ, साथै व्यवसायीलाई पीरमर्का नपरोस् भनेर सरकार सजग छ ।” उनले यस क्षेत्रसँग सम्बन्धित कानून निर्माण गर्दा सरोकारवाला सबैसँग छलफल गरिने र सुझाव समेटिने विश्वास दिलाए ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले मुलुकको समृद्धि र विकासका लागि लगानीमैत्री वातावरण हुनु प्रमुख विषय रहेको उल्लेख गर्दै कुनै पनि व्यवसायी तथा लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । उनले राज्यलाई कर तिर्ने र विकास निर्माणका सामग्री उत्पादन गर्न व्यवसाय र लगानीकर्ताका सम्बन्धमा सरकारले कुनै पक्षपात नगरी व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे ।

महासङ्घका अध्यक्ष सीताराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष श्यामराज खड्का, कोषाध्यक्ष यामबहनदुर मल्ललगायतले क्रसर तथा खानी उद्योग मुलुकको विकास निर्माणको मेरुदण्ड भए पनि यस व्यावसायले उचित सहयोग र इज्जत नपाएको गुनासो गरे ।