May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीतः अग्नि सापकोटा

२०७९ फाल्गुन २७

390

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताए । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ उनले भने, ‘त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि शुरुवात गरिरहेको छ ।’

सापकोटाले अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदा शान्ति प्रक्रियालाई असर पुर्‍याउने बताए । ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडि बढ्नुपर्छ । त्यस अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै यस्ता संक्रमणकालिन न्याय सम्बन्धि विषयहरु समाधान गरिनुपर्छ,’ उनले भने ।