August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे

२०७९ चैत्र ५

386

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

कानून मन्त्रालयको समेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश गर्ने भएका छन्।

साथै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पनि पेश गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्।

बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा प्रेम सुवालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ।

साथै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन्।

यसैगरी सभामुखले बैठकमा नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने सम्भावित कार्यसूचिमा रहेको छ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेसमेत बैठकको सम्भावित कार्यसूची छ।