“नास्तिकता र भौतिकवादी विचार त्यो पर्खाल हो जसले तपाईंको दिमागभित्र कुनै पनि प्रकारको अन्धविश्वास, रुढिवाद र पाखण्डलाई पस्न दिँदैन ।”
यो भनाइ केवल विचारको शृङ्खला मात्र होइन, मानव चेतनाको विकास र स्वतन्त्र चिन्तनको दिशामा एउटा सशक्त उद्घोष हो । मानव समाजमा धर्म, परम्परा र विश्वास प्रणालीले हजारौं वर्षदेखि भूमिका खेलेका छन् । तर यस यात्रामा, मानव चेतनालाई कैदमा पार्ने, भयमा राख्ने र शोषण गर्ने अवस्थाहरू पनि निर्माण भएका छन् । यो लेख नास्तिकता र भौतिकवादी विचारको गहिरो विश्लेषण गर्दै अन्धविश्वास, रुढिवाद र पाखण्डका विरुद्ध तिनीहरूको महत्त्व र प्रभावबारे केन्द्रित हुनेछ ।
१. नास्तिकता के हो ?
नास्तिकता भन्नाले ईश्वर, आत्मा, पुनर्जन्म जस्ता अलौकिक अस्तित्वहरूमा अविश्वास गर्ने दृष्टिकोण हो । यस विचार प्रणालीले अनुभव, प्रमाण र तर्कमा आधारित ज्ञानलाई महत्व दिन्छ । नास्तिकहरू वैज्ञानिक आधारमा पुष्टि गर्न नसकिने मान्यताहरूलाई अस्वीकार गर्छन् । नास्तिकता भनेको केवल ईश्वरको इन्कार मात्र होइन, यो एक स्वतन्त्र चिन्तनको अभ्यास हो ।
२. भौतिकवादी विचारधारा के हो ?
भौतिकवादी विचारधाराले यो सृष्टिमा केवल पदार्थ (matter) र ऊर्जाको अस्तित्वलाई मान्दछ । यस विचार प्रणालीले सबै प्राकृतिक र सामाजिक घटनाहरू कुनै अलौकिक शक्तिद्वारा सञ्चालित नभई प्राकृतिक नियमहरूद्वारा सञ्चालन हुने मान्यता राख्दछ । मन, आत्मा वा चेतना पनि भौतिक संरचनाको उपज हुन् भन्ने मान्यता यस विचारको केन्द्रमा हुन्छ ।
३. अन्धविश्वास, रुढिवाद र पाखण्डको स्वरूप
अन्धविश्वास भनेको कुनै प्रमाण वा तर्क बिना विश्वास गरिने कुरा हो । जस्तै नेपाली समाजमा प्रचलित–“कालो बिरालोले बाटो काटेमा अशुभ हुन्छ, ग्रहदशाले मान्छेको जीवन चलाउँछ, यज्ञ वा पूजा गरेर रोग निको हुन्छ ।” लगायतका परम्परागत विश्वासहरु यसका उदाहरणहरु हुन् । त्यसैगरी रुढिवाद भनेको परम्परागत सोच, परिपाटी र आचारहरूमा जकडिनु हो, जुन वैज्ञानिक विकाससँग मेल खाँदैन । जस्तै –“महिलालाई महिनावारीको समयमा छुन नहुने, जातको आधारमा विभेद गर्ने, विधवाहरूलाई अपमानित गरिने ।” लगायतका सांस्कृतिक अभ्यासहरु यसका उदाहरणहरु हुन् । र, पाखण्ड भनेको बाह्यरूपमा धर्मनिष्ठ, नैतिक वा पुण्यात्मा देखिन खोज्ने तर व्यवहारमा स्वार्थी, दमनकारी वा ठगी प्रवृत्तिको हुनु हो । जस्तै –“आफैं भ्रष्टाचार गर्ने तर समाजलाई धर्म सिकाउने, पूजा–पाठ गरेर सामाजिक न्यायको विरोध गर्ने ।
४. विकल्पमा नास्तिकता र भौतिकवाद
स्वतन्त्र चिन्तनको अभ्यास
नास्तिकताले मानिसलाई सोच्न सिकाउँछ, प्रश्न उठाउन सिकाउँछ । किन र कसरी भन्ने प्रश्नले अन्धविश्वासको जरा नै उखेलिन्छ । जब बच्चाहरूलाई सुरुबाटै आलोचनात्मक सोच सिकाइन्छ, तब धर्मको नाममा हुने शोषण वा पाखण्ड उभिनै सक्दैन ।
वैज्ञानिक चेतना प्रवर्धन
भौतिकवादी विचारले तर्क, परीक्षण र प्रमाणमा विश्वास गर्छ । कुनै पनि घटनाको विश्लेषण प्राकृतिक कारणले हुन्छ, भन्ने मान्यताले ग्रह–नक्षत्रको डर, तान्त्रिक शक्तिको भ्रम, पुनर्जन्मको सिद्धान्त, यज्ञ–हवनले रोग निको हुने विश्वासलाई समाप्त गर्छ ।
सामाजिक न्यायको पक्षधरता
नास्तिकता जात, वर्ण, लिङ्ग, धर्मको नाममा हुने भेदभावको विरोध गर्दछ । भौतिकवादी दृष्टिकोणले पनि हरेक मानव समान छन्, भन्ने मान्यतालाई अघि सार्दछ । यो दृष्टिकोणले वर्ण व्यवस्था, छुवाछुत, पितृसत्ता, बालविवाह जस्ता विकृतिहरू विरुद्ध लड्न प्रेरणा दिन्छ ।
५. ऐतिहासिक परिप्रेक्ष्यमा नास्तिकता
भारतीय इतिहासमा चार्वाक दर्शन नास्तिक दर्शनको पहिलो उदाहरण हो । चार्वाकहरूले आत्मा, पुनर्जन्म, स्वर्ग–नरक, यज्ञ आदिलाई अस्वीकार गरेका थिए । उनीहरूले “यावत् जीवेत् सुखं जीवेत्” अर्थात् “जबसम्म बाँच, आनन्दले बाँच” भन्ने विचार दिएका थिए । यो विचारले तत्कालीन पाखण्डपूर्ण कर्मकाण्डको विरोध गरेको थियो । बौद्ध र जैन धर्म पनि परम्परागत ब्राह्मणवादी व्यवस्था र वेदवादी संस्कृतिको विरोधस्वरूप आएका थिए । यिनीहरूले नैतिकता र ध्यानलाई जोड दिए । पश्चिमी दर्शनमा एपिक्युरस, डेमोक्रिटस, डेविड ह्युम, नीत्से, कार्ल माक्र्स, बट्र्रान्ड रस्सेल जस्ता विचारकहरूले नास्तिकता र भौतिकवादको प्रवर्धन गरेका छन् । उनीहरूको विचारहरूले धार्मिक पाखण्ड, राजकीय शोषण र सांस्कृतिक अन्याय विरुद्ध आवाज उठाएका थिए ।
६. वर्तमान सन्दर्भमा महत्व
आज पनि ज्योतिषमा अत्यधिक विश्वास, धर्मगुरुहरूमाथि आँखामुन्दो आस्था, रत्न, ताबीज, मन्त्र, पञ्चगव्य सेवन, देवीदेवताले रोग निको बनाउने भ्रम विभिन्न रूपका अन्धविश्वासहरू फैलिएर बसेका छन्ः
यी सबै प्रवृत्तिले जनताको चेतनामा आँखा बाँधिदिन्छन् । मानिसहरू आफ्नो जीवनको नियन्त्रण अरूको हातमा दिन थाल्छन् । यो अवस्थामा नास्तिकता र भौतिकवादी दृष्टिकोण नै चेतनाको पुनर्जागरणका औजार हुन् ।
७. शिक्षा प्रणालीमा भूमिका
विद्यालयहरूमा आलोचनात्मक सोच, वैज्ञानिक पद्धति, प्रयोगशालामा परीक्षण, अवलोकन र निष्कर्ष निकाल्ने अभ्यासहरूलाई जोड दिनुपर्छ । शिक्षा प्रणालीले सबै धर्मप्रति सम्मान राख्दै तर कुनै पनि धर्मलाई विशेष प्राथमिकता नदिई, विवेक र मानवतामा आधारित शिक्षा दिनुपर्छ । करुणा, सहिष्णुता, सत्य, समानता, स्वतन्त्रता जस्ता मूल्यहरू नास्तिक र भौतिकवादी दृष्टिकोणबाट पनि बलियोसँग स्थापित गर्न सकिन्छ ।
८. नास्तिकता विरुद्धका भ्रमहरू
धेरै मानिसहरूले नास्तिकतालाई नकारात्मक रूपमा हेर्छन् । यसका केही भ्रमहरूः “नास्तिकहरू अनैतिक हुन्छन् ।” जबकि नैतिकता धर्मको monopoly होइन । सहयोग, प्रेम, इमानदारी जस्ता मूल्यहरू धर्मभन्दा पनि मानवताको उपज हुन् । अर्को “नास्तिकहरू निराशावादी हुन्छन् ।” भन्ने भ्रम रहेको छ, वास्तवमा यथार्थ बुझेर बाँच्नु नै आशावाद हो । झूटो आशामा रमाउनु होइन ।
त्यसैगरी “नास्तिकता समाजविरोधी हुन्छ ।” भन्ने भ्रम पनि रहेको छ । नास्तिकता त समाजमा व्याप्त अन्याय र भ्रमको विरोधी हो, समाजको होइन ।
९. भविष्यको बाटो
गाउँ–सहर, विद्यालय, मिडिया, सामाजिक सञ्जालमार्फत अन्धविश्वास विरुद्ध सचेतना फैलाउनुपर्दछ । जसका लागि राजनीतिक र सामाजिक नेतृत्व वैज्ञानिक सोच र चिन्तन भएका व्यक्तिहरूले सम्हाल्नु आवश्यक छ । नास्तिकता र भौतिकवादलाई गाली होइन, बहस र संवादद्वारा बुझ्ने वातावरण निर्माण गर्नुपर्छ ।
निष्कर्ष
नास्तिकता र भौतिकवादी विचारधारा केवल व्यक्तिगत आस्था वा विश्व दृष्टिकोण मात्र होइन, यो एउटा चिन्तनको क्रान्ति हो । जसले भय र झुटो आश्वासन नभइ तर्कको मार्ग देखाउँछ । यथार्थको धरातलमा बाँच्ने प्रेरणा दिन्छ । जब मानव चेतनाले आफ्ना बन्धनहरू तोडेर स्वतन्त्र सोच्न थाल्छ, तब मात्र समाज साँचो अर्थमा प्रगतिशील, न्यायपूर्ण र वैज्ञानिक बन्न सक्छ । त्यसैले, नास्तिकता र भौतिकवादी दृष्टिकोणलाई हामीले आत्मसात गर्नुपर्छ, केवल विचारको स्तरमा होइन, व्यवहार र समाजको संरचनामा पनि । नास्तिकता र भौतिकवादी विचारधारा नै हो जसले स्थायी रूपमा दिमागलाई अन्धविश्वास, पाखण्ड र रुढिवादी साङ्लाबाट मुक्त गर्छ ।
लेखक भौतिकवादी समाज नेपालका अध्यक्ष हुुन् ।