काठमाडौंः नेपाल र पाहुना टोली युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । खेल अघि दुवै टीमका प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शन गर्दै सिरिज जित्ने दावी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा नेपाली क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरणले नेपाली खेलाडीको प्रदर्शन सुधार हुदै गएकाले राम्रो नजिता निकाल्ने बताए । उनले सिरिज नेपालका लागि चूनौती र अवसर दुवै भएको जिकिर गरे । त्यस्तै नेपाली टोलीका नव नियुक्त कप्तान रोहित कुमार पौडेलले युएईसंगको सिरिजका लागि आफुहरु पूर्ण रुपमा तयार रहेको र नेपालका लागि अवसर भएको बताएका छन् ।
नेपाल र युएईले पहिलो खेल आज, दोस्रो खेल ३० गते र तेस्रो खेल मंसिर २ गते खेल्ने छ । सिरिजका लागि क्यानले सिरिजको टिकट मूल्य २ सय राखिएको जनाएको छ । यस्तै सिरिजमा प्लेयर अफ द सिरिज बन्ने खेलाडीले नगद ५० हजार पाउने छन् । हरेक खेलको म्यान अफ द म्याचले २० हजार नगद पाउने छन् ।