नेपालमा पुँजीवादी क्रान्ति हुन सकेन तर विश्व पुँजीवादको प्रभावमार्फत् सामन्त नै दलाल पुँजीपतिमा रुपान्तरण हुने प्रकृयामार्फत् नेपाली समाज मूलतः पुँजीवादी समाज बन्न पुगेको छ । संस्कृति, आर्थिक लगायत कैयन क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहे पनि आज किसानमाथिको मुख्य शोषण र उत्पीडन पुँजीवादी प्रकारको छ । सामन्त केही रहे पनि सामन्त वर्ग अब मूलतः नभएकाले किसान पनि अब वर्गका रुपमा छैन । हिजोको निम्न मध्यम किसान, गरिब किसान र भूमिहीन किसान आज सर्वहारा श्रमिक वर्गमा रुपान्तरण भएका छन्, भने सर्वहारा श्रमिक वर्गबाट पनि विस्थापित वर्ग जन्मिने प्रकृया सुरु भैसकेको छ । हिजोको मध्यम किसान वर्ग आज मध्यम वर्गीय ‘कृषि व्यवसायी’मा रुपान्तरण भएको छ । यसप्रकार समग्रमा किसान एउटा उत्पीडित कृषक समुदाय बन्न पुगेको छ ।
दैनिक उपभोग्य खाद्यान्न, तरकारीदेखि मरमसलासम्मको बजार विदेशी उत्पादनको निम्ति खुल्ला छ, तर नेपाली किसानले कुनै उचित मूल्य पाउने अवस्था छैन ।
नेपालको कृषिले कुल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान गरिरहेको छ । करिब २० प्रतिशत किसान भूमिहीन छन् । बढीमा ५५ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । चार आना अर्थात् साँढे सात धुर जमिनमा खेती गर्ने सम्मलाई किसान मान्दा ४१ लाख ३१ हजार कृषक परिवार छन् । त्यसमध्ये १५ प्रतिशत किसानले अरुको जमिन जोतिरहेका छन् । ८५ प्रतिशत किसान आफ्नै हकभोगको जमिनमा खेती गर्छन् । नेपालमा ४ लाख ५० हजार मोही परिवार छन् । देशका विभिन्न भागमा अहिले पनि हजारौँ बिघा जमिन बिर्तावालकै नाममा छ, किसानको नाममा आइसकेको छैन । भित्री मधेश, तराई र अन्य भागमा वर्षौँदेखि जोतभोग भएको जग्गा ऐलानीका रुपमा छ, किसानको नाममा दर्ता भएको छैन ।
बैङ्क, सहकारी, लघुवित्तजस्ता संस्था आधुनिक ब्याजदरको साहुकार भएर आएका छन् र किसानलाई ऋणको जालोमा फसाएका छन् । मल, बीउ र बजारमाथि एकछत्र दलाल पुँजीपतिको कब्जा छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारीदेखि मरमसलासम्मको बजार विदेशी उत्पादनको निम्ति खुल्ला छ, तर नेपाली किसानले कुनै उचित मूल्य पाउने अवस्था छैन । लागत बढेको बढ्यै छ तर बजार र उचित मूल्य छैन । त्यसकारण किसान झन् झन् ऋणमा डुब्दै जाने र जमिन बाँझो छाडेर विदेशी श्रम बजारमा लर्को लागेर जान बाध्य छन् । किसानको आर्थिक बिचल्लीको फाइदा उठाएर स्थानीय साहुकार पुँजीपतिले मिटर ब्याजमा किसानलाई फसाएर जग्गा हडप्ने वा कहिल्यै चुक्ता नहुने ऋणको चक्रमा फसाइरहेका छन् । लघुवित्तको षड्यन्त्रकारी जाल र मिटरब्याजको पासोमा परेर सर्वहारा–श्रमिक वर्गका किसान आत्महत्या गर्ने वा बस्ती छाडेर भाग्ने प्रकृया सुरु भएको छ । गाउँ गाउँबाट विदेशी व्यापारीले टिम्मुर, ओखर र जडिबुटीहरु कौडीको मोलमा विदेश ओसारेका छन् भने राज्य काजु, पेस्ता आयात गरेर सुतिरहेको छ । कुखुरा, अण्डा जस्ता केही उत्पादन नेपालमै खपत त भएको छ तर बैङ्कको चर्को ब्याज, दाना र औषधीको चर्को मूल्यका कारण मध्यम वर्गका किसानको प्रगति अवरुद्ध भएको छ । तराई क्षेत्रका भूमिहीन कृषि श्रमिक अझै पनि नगदमा होइन, अन्न नै ज्यालामा थापेर चरम शोषण व्यहोरिरहेका छन् । समग्रमा आज नेपाली किसान दलाल पुँजीवादबाट उठ्नै नसक्ने गरी उत्पीडित छन् । हरेक किसानको घरबाट कम्तिमा एक सदस्य विदेश नगई जीविका धान्नै नसक्ने विकराल अवस्था उत्पन्न भएको छ ।
नेपाली किसानमध्ये ८५ प्रतिशत स्वतन्त्र किसान रहेका हुनाले दलाल पुँजीवादी व्यवस्थाले कृषि उत्पादनलाई प्राथमिकता नदिनु, ऋणको चक्रमा फसाउनु, नेपाली उत्पादनभन्दा विदेशी उत्पादनलाई मलजल गर्नु र बिचौलिया मार्फत् किसानलाई ठग्नु नै नेपाली किसानको मुख्य समस्या हो । भूमिहीनता, मोहियानी हक, ऐलानीको रैकरकरण आदि चाहिँ नेपाली किसानका सहायक समस्या हुन् । त्यसैले, मुख्य समस्यामा केन्द्रित हुँदै सहायक समस्यालाई समाधान गर्न आवश्यक छ ।
यसप्रकारको विकराल समस्या उत्पन्न हुनुको मूल कारण भनेको देशमा स्थापित दलाल पुँजीवादी संसदीय राज्यव्यवस्था नै हो । यस व्यवस्थाको नेतृत्व गरिरहेको दलाल पुँजीपति वर्गको चरित्र नै देशमा उत्पादन नगर्ने बरु विदेशी उत्पादनलाई नेपाली बजारमा छरेर नाफा र कमिशन बटुल्ने प्रकारको छ । देशलाई सँधै कृषि प्रधान भनिरहने तर मोहियानीको समस्या समेत कहिल्यै समाधान गर्न रुचि नदेखाउनु, दशकौँदेखि एउटा रसायनिक मल कारखानासमेत नखोल्नुले यस व्यवस्थाको दलाल चरित्र छर्लङ्ग बुझ्न कुनै कठिनाइ पर्दैन ।
वैज्ञानिक समाजवादी किसान केन्द्र, नेपालको प्रारम्भिक राष्ट्रिय भेला २०८० द्वारा पारित घोषणापत्रको अंश